अनामिका र भाइटिकाको दिन– ६
- Post Date: 2025-01-09 06:11:00
अर्जुन कोण्डा
प्वाँख छैन त के भो, उडिरहेछ मन फुर्र फुर्र...
बसन्त ऋतु हैन, उडिरहेछ आफैँ भुर्र भुर्र...
तन न हो बाँधिने, घुरिरहेछ मात्र घुर्र घुर्र...
मन केवल् चङ्गा हो, उड्छ हावासँगै हुर्र हुर्र...
आज मेरो मन अधीर छ । अनामिकाले पाएको दुखद भोगाइ आँखा सामु नाचिरहेछ । हावा नचली पात हल्लिन्न भन्छन् । म यहाँ बन्द कोठाभित्र छु । हावा चलेको छैन । जाडो याम सुरु हुने तर्खर गर्दैछ, म भने बिहान चिसो महसुस गर्न थालिसकेँ । अनि बाक्ला लुगा, सिरक र डसनामा गुटुमुटु पारेर बसेको छु । तापनि मेरो मुटु हुरीको झोँकले पात हल्लिएझै हल्लिरहेको छ अथवा भनूँ शरद् ऋतुले रुखका पातलाई बेस्सरी उडाएझै मेरो मनलाई पनि गन्तव्यहिन दिशामा उडाइरहेको छ । आज मेरो शरीर शरद् ऋतुले नंग्याएको रुखझैँ एक्लै ठडिरहेको छ । अनि मनका पातहरु सम्हाल्न नसकेर विलौना गरिरहेको छ ।
अनामिकाको जीवनका पातहरु पनि हुरीले नभई विमानमा बसेर मलेसियासम्म पुगे । फेरि फर्केर नेपाल आइपुगेको छ । तर त्यो पातलाई सामान्य हावाले पनि यसरी नचाउँदो रहेछ कि हेर्नेको पनि आङ्ग सिरिङ्ग हुन्छ । हर्षिका दिदीको नम्बरमा फोन लागेको थिएन । तर नियतिले चाहेपछि असम्भव पनि सम्भव हुँदो रहेछ ।
भाइटिकाको दिन थियो । नेवारी रितिथितिअनुसार दिदिले भाइको घरमा गई भाइटिका गर्नुपर्ने चलन काठमाण्डौ उपत्यकामा व्याप्त छ । त्यसैले होला, अनामिका पनि सज्जिएर आएकी थिइन् । कार पछाडिको डिकी खोल्दै प्लास्टिकले बेरिएका सामानका ठूला ठूला पोकाहरु तल झार्दै थिइन् । सगुनका पोकाहरु विस्तारै भुइमा राख्दै थिइन् । त्यसपछि नजिकको पसलमा गईन् र करिब आठ सय रुपैयाँ जतिपर्ने तीन लिटरको जुजु धौ पनि किनेर ल्याइन् । म भने भाइटिका सकेर बाहिर साथीहरुसँग गफमा भुलिरहेको थिएँ ।
त्यसपछि कसलाई हो, फोन गर्न थालिन् । फोनमा मसिनो स्वरमा विलौना गर्दै थिइन् । तर सामान लिन कोही आएनन् । एकक्षणमा उही हर्षिका दिदी देखापरिन् । दुबैजना सामान बोकी अदुश्य भइन् ।
साँझ ढल्कदै थियो । केटाकेटीहरु पटाका पड्काएर रमाइलो गर्दै थिए । कोही झिरझिरेमा रमाउँर्द थिए भने कोही आकाशमा रकेट उडाउँदै थिए । अचानक कसैले गमला आकारको पटाका पड्काए । मेरो साटो उड्यो । आकाश धूवाँले भरिन थाल्यो । बारुदको गन्धमा मान्छेहरु रमाउँदै गर्दा नजिकैको छिमेकी घरमा बस्ने महिलाहरु गाली गरिरहेका थिए । एउटा पटाका रकेट उडेर छिमेकीको कोठामै पुगेको रहेछ । घरमा भाइटिका सकाएर केहिबेर बाहिर रमाइलो गर्न भनी निस्केको म चुपचाप आफ्नै घरतिर लागेँ ।
बाहिर झिलिमिली पर्याप्त थियो । तर मेरो मन कुनै कुरामा अल्झिरहेको थियो। म घर नपुग्दै मोबाइलमा फोन बज्यो । मोबाइलको स्क्रिनमा हेरेँ । हर्षिका दिदीको फोन रहेछ । मैले फोन उठाउन नपाउँदै अर्को मेसेज आइपुग्यो । तुरुन्त दिइएको ठेगानामा आउनु भनी खबर पठाएका रहेछन् । घरको मोटरसाइकल निकाली म हर्षिका दिदीेले बोलाएको ठाउँमा पुगेँ ।
हर्षिका दिदी अनामिकालाई सम्झाउँदै हुनुहुन्थ्यो । अनामिका भने आँसुको सागरमा डुब्दै थिइन् । हर्षिका दिदीले अघिका सामानहरु उनको कोठामा पु¥याई दिन भनिन् । म कहिल्यै हर्षिका दिदीको कोठामा पुगेकै थिइनँ । उनको अनुरोधलाई नाइँ भन्न सकिनँ ।अलि असहज मान्दै हर्षिका दिदीको कोठामा पुगेँ । अनि भित्तामा राखिएका तस्बीरहरु नियाल्दै उभिएर बसेँ । एअरपोर्टमा खिचिएको भित्ताको तस्बीरमा हँसिली हर्षिका दिदी उभिइरहेकी थिइन् । उनको गलामा पहेँलो खादा थियो भने हातमा फूलको गुच्छा ।
एक महिनापछि मलेसिया फर्कन्छु भन्ने हर्षिका दिदी अझै भक्तपुरमै थिइन् । मैले अझै पनि हर्षिका दिदीलाई राम्ररी चिनेकै थिइनँ । त्यसैले म तल झर्दै थिएँ । हर्षिका दिदीले बाहिर जानबाट मलाई रोकिन् र भनिन्, कथाकार भाइ, चिया खाएर मात्र जानु ल ।
मलाई कता कता व्यङ्ग्य गरेझै लाग्यो । किनकी म त्यस्तो नाम चल्ने लेखक पनि होइन । अनि शक्तिशाली मान्छे पनि म होइन । यदि हुँदो हो त, मैले अनामिकालाई न्याय दिलाइसक्ने थिएँ ।
मनमा कुरा खेलाउँदै गर्दा अनामिका दिदी पनि कोठा भित्र पसिन् । अहिलेसम्म मैले अनामिकासँग प्रत्यक्ष कुराकानी गरेकै छैन । मनमा अनगिन्ती प्रश्नहरु थिए । तर सोध्न सक्ने आँट नै थिएन ।
अनि सोध्न मिल्ने स्थिति पनि थिएन । न म रोइरहेकी अनामिकालाई मेरो प्रश्नले आहत गर्न सक्छु ।
म ठिङ्ग उभिरहेँ । सायद मैले मनमा कुरा खेलाइरहेको देखेर होला, हर्षिका दिदीले नजिकको कुर्सीमा बस्न आग्रह गरिन् ।
मेरो अहिलेसम्म केटीहरुसँग खासै हिमचिम नभएकोले होला, म असजिलो मान्दै थिएँ । अनामिका पनि नजिकैको कुर्सीमा बसिन् । अझै पनि हिक्क हिक्क छुटेको थिएन ।
हर्षिका दिदीले भन्नुभयो, अब रोएर केहि हुने छैन । हाम्रो आँसुको मूल्य घरले बुझ्दैन भने त्यो आफ्नो घर कसरी हुन सक्छ? भो भयो अब त्यो घरमा छिर्नू पनि पर्दैन ।
मैले केहि बुझ्न सकिनँ । हर्षिका दिदी रिसले आगो भइन् । अनामिका उमेरले दिदी पर्छिन् । मैले दिदी नै भन्नुपर्ने हो, तर नामले बोलाइरहेको हुँदा आफैँलाई थप अप्थेरो महसुुस गर्दै थिएँ ।
मैले सोधेँ, के भएछ दिदी? अघि त भाइटिकाको लागि कारमा आएको देखेको थिएँ ।
हर्षिका दिदीले मुख खोलिन्, भाइले घरको ढोका नै खोल्न आएनन् नि । आमा र बुहारी आआफ्ना माइत पुगिसकेका रहेछन् । विचरी त्यत्रो टाढाबाट भाइटिका गर्न आएकी छिन्, अलिकति मानविय भावना त हुनुपर्ने हो नि । उल्टो हप्काएर पठाएछन् । मखमली फूलको माला, सयपत्री फूल, अन्य पूजा सामग्री तथा मिठाइका परिकारले घरको प्रवेश नै पाएनन् । भाइको दिघा्ृयुको कामना गर्न आएकी आफ्नो दिदीलाई भेट्न नै नचाहने भाइको व्यवहार देखेर वाक्क लाग्यो । मान्छेले पढेर भन्दा परेर जानिन्छ भन्ने भन्ने कुरा साँचो रहेछ ।
रिसको झोकमा उनी भन्दै गइन्, मानविय संवदेना बिनाका प्रमाणपत्रहरु त कागजका खोस्टा हुन् । मान्छेले मान्छे हुन नजानेपछि अनि मान्छेलाई मान्छे नगन्ने भएपछि योग्यताका प्रमाणपत्रहरु त जाडोमा आगो बाल्न मात्र काम लाग्ने रहेछ । विश्वविद्यालयहरु त केवल कारखाना भएका छन्, जहाँ आफ्नो देशको लागि भन्दा पनि अरु देशको लागि मजदुर उत्पादन हुन्छ । देशलाई त खाली कर चाहिएको छ, जनतालाई छलेर होस् या बेचेर । आँखामा कालो पट्टी बाँधेकी न्याय देवी पनि सञ्जयबिनाका धृतराष्ट्र र गान्धारी बनेका छन् त्यसैले त द्रौपदीको चीरहरणमा मौन छन् । युधिस्थिरलाई सत्य के हो थाहा छैन, भीमको बल र अर्जुनको तीर आफ्नै स्त्रीको इज्जत जोगाउन असक्षम छन् ।आफ्नै रगतले समेत नचिनिएकी नबुझिएकी अनामिकालाई बाँकी समाजले के बुझ्ला ?
हर्षिका दिदीको कुरा सुन्दा मनमा मनमा अनेक प्रश्नहरु तेर्सिए । सायद हर्षिका दिदी पनि भावुक हुनुभएछ । अनामिकालाई ढाडस दिनुको सातो उनी आफैँ भावनामा बहकिए जस्तो लाग्यो । त्यति नै बेला केहि हरफहरु मनमा गुन्न पुगेँ ।
आज दिदीको भुइमा खुट्टा छैन,
भाइको घरमा उसको जुत्ता छैन
भाइटिकाको दिन, भाइ कहाँ हराए?
रंगिन साँझ दिदीको सारीमा बुट्टा छैन
फेरि मनमा अन्य केहि हरफहरु पनि क्रमशः जन्मिए ।अनामिकाको हिक्क हिक्क रुवाइले संगीत थपेझै भयो ।
भीरको फूल भीरैमा, कसले हाल्यो शीरैमा,
बाटो मुनिको फूल त्यो, मर्दौरहेछ पीरैमा,
फुल्न खोजिन् दैलाभरि, आँगनभरि सुवास
भक्त हैन व्याधा रैछ, ध्यान पो गयो तीरैमा,
तलेजु गै कुमारी भै उपत्यकाको रिवाज
जालो थाप्यो माछा प¥यो, सबको ध्यान झीरैेमा
जान्नेलाई श्रीखण्ड त्यो, नजान्नेलाई बीँड हो
अनामिका कहाँ फुलिन्, भीरको फूल भीरैमा
मलाई पनि कस्तो कस्तो लाग्यो । आधुनिक युगमा मान्छेले चन्द्र्रमा टेकिसके, हामी भने मानविय भावना समेत गुमाउँदैछौँ । अनामिका दिदीलाई भाइले अझै स्विकार गरिसकेका रहेनछन् । फेरि अर्को हरफ मनमा गुञ्जियो,
आकाशका ताराहरु लाखौँ कोश पारीका
जसै दिन ढल्छ, लाग्छ यसै धर्ती वारीका
अनामिका तारा होइनन् हुन् यसै धर्तीका
तापनि किन लाग्छ खै, अर्कै फूलबारीका
रगतको साइनो जुन् भावीले लेखे पनि
भाइ भन्छन्, बोक्न गा¥हो वजन भो भारीका
बुबा खोजे छोरीले के भन्ने होलिन् आमाले
बलात्कृत् भै जन्मिएकी मध्यपूर्व खाडीका
भुइ मान्छेको मर्म हजुर बुझ्ने कसले
नेता मरे आउँछन् यहाँ लश्कर गाडीका
मनमनै गुनगुनाएका यी हरफहरु मनमै सिमित राखेँ । तापति मुखबाट फुट्किहाल्यो, यदि भाइलाई दिदी नचाहिने भए दिदीलाई मात्र भाइको आवश्यकता किन हुन्छ ? मैले यसो भन्न हुँदैनथ्यो ।
मैले अन्जानमा बोलेका शब्दहरुले बलेको आगोमा घिउ मात्र थपेछन् । अनामिका डाँको छाडेर रुन लागिन् । हर्षिका दिदी पनि हेरेको हे¥यै भइन् । आफूलाई सम्हालेर दिदीले भनिन्, रुनू, धीत मर्ने गरी रुनू ताकि भोलिका दिनमा कुनै आँसु नझरोस् । जुन् समाजले महिलालाई चिन्न र सम्मान गर्न जान्देैन भने त्यो समाज आफ्नो कसरी हुन सक्छ?
हर्षिका दिदीको कुरामा दम थियो । उनको आवाजमा विद्रोह थियो । अनामिका मात्र सुन्दै थिइन् । सुनाउनुपर्ने त शोषक, पिडक र पुरुष सत्तात्मक व्यवस्थालाई हो, तर तिनीहरुको कान हुँदैन, खाली फलाक्न मात्र जानेका हुन्छन् , बिग्रेको रेडियोजस्तै । आवाजविहिनलाई न यो समाजले सुन्छ न बुझ्छ,, ठूलो स्वर त पिडककै हुन्छ यो समाजमा ।
मेरो मनमा पनि अनामिकाको दबिएको भित्री आवाज सुन्ने इच्छा थियो । तर त्यो दबिएको आवाज रुवाइ मार्फत मात्र गुञ्जिरह्यो । त्यो गुञ्जाइमा भाव मात्र थियो, स्वर थिएन । समय र समाजमाथिको आक्रोस थियो, तर विद्रोह थिएन । भएको पनि यसरी रोएर बस्नुपर्ने हुन्थेन । नत्र किन दया र सहानुभूतिमा बाँच्नुपर्ने हुन्थ्यो र?
तर मेरो मनमा दया र सहानूभूति पटक्कै थिएन, थिए त केवल आक्रोश । मैले अनामिकालाई पूर्ण रुपमा बुझेको त छैन । तर अनामिकाले आँसु बगाएको मलाई पटक्कै चित्त बुझेन । किनकी यो समाजले आँसुलाई सिर्फ कमजोरी ठानेको छ । यसले नारीलाई केवल निरीह बनाएको छ ।
संसारको रचनाकार ब्रम्हा हुन् भन्ने भ्रममा आमाले जन्म दिने कथा भुलिएको छ । त्यसैले त ब्रम्हा पनि विष्णुको नाभीबाट कमलको फूलमा सृष्टि भएको कथा रचिएको छ। जेरुसेलममा जन्मिएका येशुका आमा मरियमलाई कुमारी बनाइएको छ । श्री स्वस्थानीमा सात वर्षे गोमाको सत्तरी वर्षे शिव शर्मा ब्राम्हणबाट विवाहमार्फत बलात्कार हुँदा पनि शिव शर्माकै चर्चा हुन्छ । सीताको मान न रावणले राखे न त रामले । किनकी ती सबै पुरुष थिए ।
जालन्धरकी पत्नी विन्द्रा विष्णुबाट बलात्कृत हुँदा पनि विष्णुको सबैतिर वाह वाह हुन्छ । द्रौपदीको चीरहरणमा हस्तिानापुर रमिते बन्छ । राधासँग रासलीला मनाउने कृष्णको बिवाह रुक्मिणीसँग हुन्छ । नारी सुन्दरता त केवल वासनाको साधन बन्छ । भन्न पो सजिलो छ, फूलको आँखामा फूलै संसार । पापी आँखाहरुमाझ फूललाई जोगिन गा¥हो छ । कहिले बोटबाट चुडाइन्छ र मिल्काइन्छ थाहै नहुने । आफ्नोबाट अलगिएर कसैको शोभा बन्नुपर्ने । यस्तो छ, समाजले दिएको नारीको स्थान ।
यो भन्दा भदा मजाक महिलामाथि के हुन सक्छ र ? म त एक पुरुष हुँ, महिलाको पिडा महसुस गर्ने क्षमता छैन ममा । केवल बुझ्न खोज्ने स्वाङ न हो । अचानोको चोट कर्दले के जान्नू? म आफैँभित्र हराइरहहेँ ।
अनामिकासँग खुलेर बोल्न सक्ने अवस्थामा म थिइनँ । न त अनामिका नै थिइन् । मनमा अनगिन्ती तरङ्गहरु निस्किरहे । कैयौँ जिज्ञासाहरु उव्जिरहे । तर अभिव्यक्त गर्न सक्ने सहि समय थिएन । तापनि मैले आफूलाई रोक्नै सकिनँ । अनि सोधेँ,
नानु खोइ त? नानुको नाम के राखियो?
अनामिकाले बल्ल मुख खोलिन्, कुमारी । नानु उनका बुबासँग छन् । गाडीमा ओहोरदोहोर गर्न बच्चालाई असजिलो हुन्छ । त्यसैले उतै छन् ।
मैले थपेँ, नानुको मुहार हेर्ने मन थियो । अनामिकाले मोबाइलमा नानुको फोटो देखाइन् । कुमारी आमाजस्तै देखिन्थी । पूर्णिमाजस्तो गोलो अनुहार, नाक पनि कस्तो मिलेका, हेर्दै बोकू बोकूँजस्तो लाग्ने आठ दश महिनाकी छोरी देखेर मैले भनेँ, काटीकुटी तपाईजस्तै ।
अनामिकाको ओठमा फिक्का हाँसो देखियो । मेरो मन पनि अलिकति हलुका भयो । अझै अनामिका हिक्क हिक्क गर्दै थिइन् । कालो केशले श्रृङ्गारिएकी अनामिकाको आँखाबाट बगेको आँसुले मुहारका गाजल र थोरै लिपिस्टिक – पाउडर पनि बगिसकेको थियो । उनी मौलिक स्वरुपमा फर्की सकेकी थिइन्, प्राकृतिक स्वरुपमा उनी कुमारी जस्ती देखि देखिन्थिन् । आँसुले उनको मौलिक स्वरुपलाई जिस्काइरहेको थियो । बुबाले भन्नुहुन्थ्यो, कुमारी रोएको, रिसाएको र हाँसेको समाजका लागि राम्रो हुन्न ।अरे बाबा! कुमारी देवी पनि त मान्छे हुन्, मानविय गुण त चाहिन्छ, भन्थेँ । बुबा मुसुमुसु हाँस्नु हुन्थ्यो । वास्तविक कुमारी देवीको पिडा त आज बुझ्दैछु, न हाँस्न मिल्ने न रुन मिल्ने ।
कुरा गर्न त धेरै नै मन थियो । मोबाइलमा आमाको नम्बरबाट चार पाँच घण्टी बजिसकेछ । दुःख सुखका कुरा गरिरहँदा आफूलाई ढिला भएको चालै भएन । सायद आमा चिन्तित होलिन् जस्तो लाग्यो । रात छिप्पिदै गएकाले मलाई घर जान ढिला भएको हुँदा हर्षिका दिदीसँग बिदा मागेँ । मैले हर्षिका दिदीलाई भनेँ, दिदी म जान्छु नि, ल ।
हर्षिका दिदीले भन्नुभयो, चिया उम्लिसक्यो, खाएर मात्र जानू ।
मैले हस् भनेँ । एकक्षणमा तातो चिया हातैमा दिनुभयो । आत्था! म सानो स्वरमा चिच्याएँ । म चिच्याएको सुनेर अनामिकाको हिँक्क हिक्क पनि बन्द भयो । मतिर हेरेर मुसुक्क हाँस्नुभयो । अनामिकाले पनि मतिर हेरेर भनिन्, भाइ चिया खाएर जानू । यति भन्दै पछ्यौरीले आँसु पुछिन् ।
म भने अनामिकाले भाइ भनेर सम्बोधन गरेको देख्दा निशब्द भएँ । म धन्य भएँ, मैले जीवनमा अनामिका नामको दिदी पाएँ । अनि दिदीको हाँसो देखेर खुशी पनि भएँ । तर मनमा डर पनि उब्ज्यो । किनकी सम्बन्ध गाँस्न पो सजिलो छ, निभाउन भने सा¥है गा¥हो । आफ्नाले त सबै सम्बन्ध पैसामा तौलन्छन्, म भने नयाँ सम्बन्ध बनाउन लागेको छु ।
भावनामा हराउने मेरो बानीलाई हर्षिका दिदी नियाल्दै थिइन् । उनले भनिन्, भाइ त भावुक पो हुनु भएछ । केटीको चक्कर छ कि कसो? नभए खोजिदऊँ कि? मैले लाज मान्दै पर्दैन भनेँ ।
रात छिप्पिदै थियो, बाहिर पटाकाको आवाज पनि बन्द भयो । घडी हेरेँ । रातको दश बजिसकेछ । बाहिर केहि मान्छेहरु वियर खाएर होहल्ला गर्दै थिए ।
घर जानु अघि मैले सोधेँ, दिदी अब मलेशिया कहिले उड्ने भइयो त? हर्षिका दिदीले अर्को महिना मात्र जाने कुरा बताउनुभयो । मैले हर्षिका दिदी र अनामिका दिदीसँग बिदा मागेँ । बाहिर निस्कदा पल्लो कोठाबाट एक बहिनी ढोका बन्द गर्न आइन् । हर्षिका दिदीको बहिनी पनि छ भन्ने थाहा नै भएन । ढोका बन्द गर्दै गर्दा ती बहिनी मतिर हेरेर मुसुक्क हाँसिन् । म मख्ख पर्दै आफ्नो घर लागेँ । जीवन त सम्बन्ध बन्ने र बिग्रने खेल रहेछ । मैले जीवनमा कति सम्बन्ध बिगारेँ हुँला, म बाटोभरि सोचिरहेँ । राती सपनामा पनि अनामिका, हर्षिका र उनकी बहिनी आँखासामु आइरहिन् ।
भोलिपल्ट थोरै शब्दहरु लेख्न खोजेँ । तर अलमलिएँ । म आफैँ कथाको पात्र हो कि कथाकार हो, आफैलाई थाहा भएन । म त आफ्नै कथाका पात्रहरुसँग गिजोलिएको रहेछु । समयले मान्छेलाई कहाँ कहाँ पु¥याउँदो रहेछ ।
-
Shares
All Comments...
Please Login/Register to comment.