मध्यनेपाल महोत्सव सुरु ः पोखरा इको रेड व्रिक्सको स्टलमा झुण्डिए सहभागी
- Post Date: 2025-01-08 15:08:00
काठमाडौं – लमजुङमा बुधबारदेखि सुरु भएको प्रथम मध्यनेपाल महोत्सवमा पोखरा चाइनिज इटा प्रमुख आकर्षणको रुपमा देखिएको छ। मध्यनेपाल नगरपालिका–४, रम्घा दुईपिप्लेमा आयोजना गरिएको महोत्सवमा धेरैजसो स्टलहरूमध्ये पोखरा चाइनिज इटाको स्टलले सहभागीहरूको विशेष ध्यान खिचेको छ।
पोखरा इको रेड ब्रिक्स प्रालिका प्रशासकीय प्रमुख मुक्ति रेग्मीका अनुसार, अत्याधुनिक प्रविधिबाट नेपालमै पहिलो पटक उत्पादित, भौतिक निर्माणका लागि आवश्यक तथा वातावरणमैत्री भएकाले इटाको स्टलले उल्लेख्य आकर्षण पाएको हो। महोत्सव माघ ४ गतेसम्म चल्नेछ। लमजुङ उद्योग वाणिज्य संघ, दुईपिप्ले सोतिपसल इकाई समितिको आयोजनामा भइरहेको महोत्सवमा ५०,००० भन्दा बढी आगन्तुकले अवलोकन गर्ने र १ करोड रुपैयाँको कारोबार हुने अनुमान गरिएको छ। महोत्सवको संरक्षक मध्यनेपाल नगरपालिका रहेको छ। ‘स्थानीय उत्पादन, पर्यटन तथा पूर्वाधार, मौलिक कला–संस्कृति समृद्ध मध्यनेपालको आधार’ भन्ने मूल नारासहित आयोजना गरिएको महोत्सवले सुस्ताएको आर्थिक गतिविधिलाई चलायमान बनाउने, मध्य भागमा रहेको यस क्षेत्रको देशविदेशमा प्रचार–प्रसार गर्ने तथा बोटे र कुमाल जातिको होमस्टे प्रवर्द्धन गर्ने उद्देश्य राखेको छ।
महोत्सव सम्पन्न गर्न १५ लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ। स्थानीय ऐतिहासिक, धार्मिक, पर्यटकीय क्षेत्रको प्रचार, परम्परागत कला–संस्कृति संरक्षण, व्यवसायिक होमस्टेको विस्तार तथा स्थानीय उत्पादन प्रवर्द्धनमा महोत्सवले विशेष जोड दिनेछ। यस महोत्सव सफल बनाउन १५१ सदस्यीय मूल आयोजक समिति, ११ सदस्यीय सल्लाहकार समिति तथा १६ उपसमिति गठन गरिएको छ। महोत्सवमा स्थानीय खानाका परिकारहरूको प्रदर्शनी तथा बिक्री, भानु–घाँसी संवाद पार्क, मध्यनेपाल स्तम्भ, नागभैरव, गौरीशंकर, मौलाकालिका र ईशानेश्वर मन्दिर अवलोकनका कार्यक्रम पनि समावेश गरिएका छन्। यसैगरी, स्थानीय हस्तकलाका सामग्रीहरूको प्रदर्शनी, पशुपालन तथा कृषि उत्पादनका लागि छुट्टै हाटबजारको व्यवस्था, विभिन्न जातजातिका परम्परागत नाच तथा ठाडोभाका, कौरा र घाँटु जस्ता सांस्कृतिक गीत–नृत्य प्रदर्शन गरिनेछ। विद्यालयस्तरीय नृत्य प्रतियोगिता र आमा समूह नृत्य प्रतियोगिताको समेत आयोजना गरिनेछ। कुल १२० वटा स्टल निर्माण गरिएका छन्, जसमा कृषि र पशुपालनका उत्पादनका लागि २० वटा स्टल निःशुल्क उपलब्ध गराइएको छ। महोत्सवको उद्घाटन मध्यनेपाल नगरपालिकाका मेयर रमेशकुमार पाण्डेले गरेका हुन्। लमजुङ, तनहुँ र कास्कीको संगमस्थलका रूपमा परिचित रम्घा दुईपिप्लेमा पहिलोपटक आयोजना गरिएको यस महोत्सवले महत्वपूर्ण उपलब्धि दिने अपेक्षा गरिएको छ। मस्र्याङदी गाउँपालिकापछि पालिकास्तरीय महोत्सव आयोजना गर्ने मध्यनेपाल नगरपालिका लमजुङ जिल्लाको दोस्रो पालिका हो।
-
Shares
All Comments...
Please Login/Register to comment.