भक्तपुर । नेपाल मजदुर किसान पार्टीका सचिव एवम् संघीय सांसद प्रेम सुवालले भक्तपुर नगरपालिकाको सत्रौं नगरसभाको आज एक समारोहबीच पानसमा दीप प्रज्ज्वलन गरी उद्घाटन गर्नुभयो । कार्यक्रममा सचिव सुवालले भक्तपुरलाई सुन्दर र स्वच्छ नगरको रुपमा विकास गर्न कुहिने र नकुहिने फोहोर अलग अलग संकलनको लागि नगरबासीहरुलाई सचेत पार्नुपर्ने बताउँदै भक्तपुरको सांस्कृतिक र पर्यटकीय महत्वको विषय स्थानीय पाठ्यक्रममा समावेश गर्नुपर्ने बताउनुभयो । शिशुस्याहार तथा बालविकास केन्द्रलाई प्राथमिकतामा राख्नुपर्ने र शिक्षक तथा आयालाई समयसापेक्ष तालिमहरु दिनुपर्नेमा जोड दिँदै उहाँले पुरानो नगरभित्र भूकम्पबाट क्षतिग्रस्त घरहरु पुनःनिर्माणको लागि नगरबासीहरुलाई प्रोत्साहन गर्नुपर्ने र नागरिकहरुलाई देशभक्त बन्न उत्साहित गर्नुपर्छ भन्नुभयो । विद्यार्थीहरुलाई सातै घण्टा अध्ययन अध्यापन गराउने भन्दा पनि अतिरिक्त क्रियाकलापमा पनि विद्यालयले जोड दिनुपर्ने बताउँदै उहाँले नगरपालिकामा दर्ता नभएका सहकारी संस्थाहरुको सञ्चालनमा रोक लगाउनुपर्ने धारणा राख्नुभयो । भक्तपुर नपाले परम्परागत खेल र नृत्यलाई पाठ्यपुस्तकमा समावेश गर्नुपर्ने, तीन–तीन महिनामा विद्यालयमा विद्यार्थीहरुको स्वास्थ्य परीक्षण गर्ने व्यवस्था राख्नुपर्ने, प्रयोगात्मक शिक्षामा जोड दिनुपर्ने, शिक्षण विधिबारे शिक्षकहरुलाई तालिम दिनुपर्ने, श्रमप्रति सम्मान गर्न विद्यार्थी सिकाउनुपर्ने, मादकपदार्थ, लागूपदार्थ, पत्रुखाना र पेयपदार्थहरुको बिक्री वितरणलाई निरुत्साहित गर्नुपर्ने जस्ता सकारात्मक र रचनात्मक सुझावहरु पनि दिनुभयो । देशको समसामयिक विषयमाथि प्रष्ट पार्दै उहाँले नेपाल वायु सेवा निगमलाई निजीकरण गर्नेतर्फ सत्तासीन दलका नेताहरु लागिपरेको बताउँदै देशका कम्युनिष्ट भनिने शासकहरु पनि निजीकरणको विरोधमा आवाज नउठाउनु देशको लागि बिडम्बना भएको बताउनुभयो । देशका उद्योग तथा कलकारखानाहरुलाई डुबाएर देशका युवाहरुलाई रोजगारीको बहानामा विदेश पठाउने सरकारको नियोजित षड्यन्त्र भएको बताउँदै उहाँले सरकारले ल्याएको निजीकरणको नीतिको देशप्रेमी जनताले विरोध गर्नुपर्ने बताउनुभयो । कार्यक्रमका सभापति एवम् भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नगरपालिका थुप्रै चुनौतिहरुबीच संविधानले निर्दिष्ट गरेबमोजिम समाजवादउन्मुख बाटोमा अगाडि बढिरहेको बताउनुभयो । भक्तपुर नगरपालिकाले शिक्षा, स्वास्थ्य उपचार, सम्पदा संरक्षण, सरसफाइ, विकास निर्माण र युवाहरुलाई रोजगारलक्षित कार्यक्रमहरु गरेर त्यही लक्ष्य प्राप्तिका आधारहरु निर्माणमा जोड दिँदै आएको बताउँदै उहाँले नेपाल मजदुर किसान पार्टीको सिद्धान्त, नीति र निर्देशनअनुसार देश र जनताको सेवा गर्नुलाई नै आफ्नो कर्तव्य ठानेको बताउनुभयो । पारदर्शिता, इमानदारिता र आर्थिक अनुशासनलाई ध्यानमा राखेर भक्तपुर नपाले काम गरिरहेको बताउँदै प्रमुख प्रजापतिले देश र जनताको सेवा गर्नेबाहेक जनप्रतिनिधिहरुको अर्को कुनै स्वार्थ नभएको स्पष्ट पार्नुभयो । ख्वप विश्वविद्यालय स्थापना गर्ने भक्तपुरबासी जनताको चाहना भएको बताउँदै उहाँले ख्वप विश्वविद्यालय विधेयक पारित भएमा भक्तपुर नपाले चिकित्सालगायत अन्य क्षेत्रमा पनि सेवा गर्ने अवसर पाउने बताउनुभयो । बागमती प्रदेश सभा सदस्य सुरेन्द्रराज गोसाइँले नगरसभा पूर्ण सफलताको शुभकामना दिँदै नगरलाई थप उचाइमा पु¥याउन नगरसभा क्रियाशील रहने विश्वास व्यक्त गर्नुभयो । भक्तपुरको नयाँ बस्तीहरुको नामांकरणमा विशेष जोड दिन आग्रह गर्दै उहाँले पुराना बस्तीमा पनि मौलिक नाम जगेर्ना गर्न तदारुकता अपनाउनुपर्ने जनताको चाहना रहेको बताउनुभयो । इतिहाससँग जोडिएको भक्तपुरको जगातीको महत्वपूर्ण पक्षलाई अध्ययन अनुसन्धान गरी त्यसको महत्व उजिल्याउन आवश्यक भएको बताउँदै सांसद गोसाईंले भक्तपुर नपाले एकीकृत विकास प्रणालीमा जोड दिनुपर्ने धारणा राख्नुभयो । उहाँले च्याम्हासिंहदेखि कमलविनायकको फुटपाथ व्यवस्थापन गर्नुपर्ने बताउँदै भूकम्पीय जोखिम न्युनीकरणमा नपाले आवश्यक तयारी पनि गर्नुपर्ने देखिएको छ भन्नुभयो । भक्तपुर नपाका उपप्रमुख रजनी जोशीले भक्तपुर नपालाई उत्कृष्ट नगर बनाउन मार्गनिर्देश गर्नुहुने नेमकिपाका अग्रज र नपाका हरेक काममा साथ र सहयोग दिने नगरबासीहरुमा हार्दिक धन्यवादज्ञापन गर्नुभयो । भक्तपुर नपाले सांस्कृतिक गतिविधि संरक्षण, सम्बर्दन र प्रवद्र्धनको लागि प्रत्येक वर्ष सांस्कृतिक बाजा प्रतियोगिताका साथै सांस्कृतिक गुरु सम्मान कार्यलाई निरन्तरता दिँदै आएको उहाँले बताउनुभयो । भक्तपुर जिल्ला प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्यालले भक्तपुर नपाले नागरिकहरुलाई सेवा प्रदान गर्न समर्पणभावले काम गरिरहेको बताउँदै शैक्षिक संस्था र स्वास्थ्य क्षेत्रमा गरेको उपलब्धी प्रशंसनीय भएको बताउनुभयो । उहाँले नगरमा सुशासन कायम र समृद्धि हासिल गर्ने विषयमा पनि नपाले प्राथमिकताका साथ अगाडि बढ्ने विश्वास व्यक्त गर्दै उहाँले पर्यटन क्षेत्रमा उपलब्धी हासिल गर्न नगरसभाले पुनरावलोकन गर्न आवश्यक रहेको बताउनुभयो । कार्यक्रममा ख्वप ईन्जिनियरिङ कलेजका प्राचार्य सुजन माकले कलेजबाट प्रवाहित सेवा सुविधा र कलेजमा अध्ययन गरेका विद्यार्थी संख्याबारे अवगत गराउनुभयो भने ख्वप अस्पतालका नि. मेडिकल डाइरेक्टर डा. मजेश प्रताप मल्ल अस्पतालका सेवाहरुबारे जानकारी गराउनुभयो । नगरसभाको उद्घाटन कार्यक्रममा भ.न.पा.का प्रमुख प्रशासकीय अधिकृत वसन्त भट्टराईले धन्यवादज्ञापन मन्तव्य राख्नुभएको थियो भने भ.न.पा ९ का वडाध्यक्ष रविन्द्र ज्याख्वले पनि बोल्नुभएको थियो ।
  • Shares

All Comments...


Please Login/Register to comment.